‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’

आइतबार, २८ पुस २०८१
काठमाडौँ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् । काउन्सिलले आइतबार यहाँ आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उनले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गरे । अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए । “केही सञ्चार माध्यमले अरूलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ । त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ । पत्रकारहरू कर्मी माहुरीजस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन । पत्रकारले अरुलाई दुःख दिन हुँदैन”, उनले भने । विषयविज्ञका रूपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार