नेपाल वायुसेवा निगमको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे

बुधबार, १९ कार्तिक २०८२
तस्बिरमा प्रवक्ता अनिल घिमिरे

काठमाडौँ : नेपाल वायुसेवा निगममा उच्च तहको जिम्मेवारी फेरबदल हुँदै उपाध्यक्ष विक्रम राईले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् भने कर्पोरेट डाइरेक्टर अनिल घिमिरे निगमका नयाँ प्रवक्ता बनेका छन्।

निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त नहुँदासम्मका लागि राईलाई कार्यवाहक अध्यक्षको भूमिकासहित मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेबाट पद तथा गोपनीयताको शपथ गराइयो।

शपथपछि राईले निगम कार्यालयमै कार्यभार सम्हाल्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूबाट गरिरहेको कार्यको विस्तृत जानकारी लिए।

सोही दिन महाप्रबन्धक कालाखेतीले निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई आधिकारिक रूपमा निगमका प्रवक्ता नियुक्त गरेका छन्।


को हुन् प्रवक्ता घिमिरे ?

झन्डै २० वर्षदेखि नेपाल वायुसेवा निगममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका अनिल घिमिरे सूचना प्रवाह र संस्थागत छवि निर्माणमा दक्ष मानिन्छन्।

२०६७ जेठ २ मा वरिष्ठ अधिकृतका रूपमा निगममा प्रवेश गरेका घिमिरेले विभागीय प्रमुखका रूपमा पनि सफलतापूर्वक नेतृत्व गरेका छन्।

सन् २०१५ देखि २०१७ सम्म भारतको नयाँदिल्लीस्थित निगम कार्यालयमा प्रमुखको रूपमा कार्यरत रहेर उनले कूटनीतिक समन्वयदेखि व्यवसाय विस्तारसम्मका काम प्रभावकारी रूपमा अघि बढाएका थिए।

WhatsApp Image 2025-11-05 at 21.35.51

नयाँ जिम्मेवारीसँगै घिमिरेले निगमको सूचना–सञ्चार प्रणाली अझ व्यवस्थित बनाउने, यात्रुहरूलाई समयमै आवश्यक सूचना तथा सन्देश उपलब्ध गराउने र सञ्चार माध्यमसँग प्रभावकारी सहकार्य गर्ने बताउँदै, सेवाग्राहीमैत्री ढङ्गमा निगमको पहुँच विस्तारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

भक्तपुर बसोबास गर्दै आएका घिमिरे स्नातकोत्तर तहका शिक्षित र निगमभित्र सकारात्मक र अनुशासित छविका अधिकारीका रूपमा परिचित छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार