काठमाडौँ : खानेपानी मन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन् ।
आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन् ।
मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्थामध्ये युनिसेफ भएको बताउँदै उनले प्रशंसा गरे ।
सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास)सम्बन्धी लक्ष्य पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको धारणा राखे ।
उनले भने, “खानेपानी, सरसफाइलगायतको क्षेत्रमा युनिसेफले राम्रा काम गर्दै आइरहेको छ, आगामी दिनमा पनि यहाँका दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको पहुँचमा पु¥याउन युनिसेफको सहयोग आवश्यक छ ।”
पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, दातृ निकायसँग एकद्वार प्रणालीमार्फत परियोजना सञ्चालनलगायतका विषयमा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।
छलफलमा नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गाले खानेपानी, तथा स्वास्थ्य सरसफाइको क्षेत्रमा विगतदेखि काम गर्दै आइरहेको र आगामी दिनमा अझै वृहत सहयोग गर्ने बताए ।
उनले भने, “नेपालमा खानेपानी, सरसरफाइको क्षेत्रमा पाँच वर्षे रणनीति अनुसार कार्ययोजना बनाएर काम गर्दैछौँ । यसपछिको योजनामा अझै वृहत काम गर्ने योजनामा छौँ ।”
कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ तथा युनिसेफका तर्फबाट दण्डिराम विश्वकर्मा, अरनिता मास्के श्रेष्ठ, मोहमद् इफरानलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया