विराटनगर । हिसान मोरङ स्पोर्ट्स मिट, २०८१ यही माघ १० गतेदेखि १६ गतेसम्म आयोजना गरिने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) मोरङले विराटनगरमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पोट्र्स मिटको तयारी पूरा भएको जानकारी दिएको हो । हिसानका अनुसार स्पोट्र्स मिटअन्तर्गत महिला र पुरुष फुटबल, भलिबल, टेबल टेनिस (सिङ्गल र डबल), लामो तथा छोटो दुरीको दौड, पुरुष क्रिकेट, बास्केटबल एवं कबड्डी प्रतियोगिता गरिने छ ।
मोरङ जिल्लाभरिका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने लगभग ३० हजार विद्यार्थीमध्येबाट खेलाडीको छनोट गरिने जानकारी हिसान मोरङका अध्यक्ष अमित ढकालले दिए । उनले सम्बन्धित विद्यालय र कलेजले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर ‘सिङ्गल’ र ‘टिम इभेन्टस’मा सहभागिताका लागि पठाउने बताए ।
विराटनगरको सहिद रंगशालामा मङ्गलवारबाटै सुरु हुने फुटबलमा २२ वटा टिमको सहभागिता रहने ढकालको भनाइ छ । फुटबल खेलाडीलाई ‘बेस्ट स्कोरर’, ‘बेस्ट किपर’ र ‘बेस्ट प्लेयर’का साथै २१ वटा म्यान अफ दी म्याच दिने तय भएको उनले बताए ।
उनका अनुसार भलिबलमा १७ वटा टिमको सहभागिता रहने छ । उक्त प्रतियोगितामा ‘बेस्ट स्पाइकर’, ‘रेवर’, ‘ब्लकर’, ‘सर्भर’ र ‘डिफेन्स’का साथै १६ वटा म्यान एवं वोमन अफ दी म्याच दिने तय भएको छ । १३ टिम सहभागी हुने क्रिकेटमा ‘बेस्ट बलर’, ‘बेस्ट ब्याट्स म्यान’ र बेस्ट प्लेयर तथा १२ वटा म्यान अफ दी म्याच प्रदान गरिने छ ।
फुटबल र भलिबलमा प्रथम एवं दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र एवं खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । बास्केटबलमा प्रथम, लामो एवं छोटो दुरीको दौडका साथै टेबल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुष खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने जानकारी अध्यक्ष ढकालले दिए ।
क्रिकेट खेल विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट रङ्गशाला माघ १० गतेबाट सुरु हुने छ । भलिबल, कबड्डी र बास्केटबल माघ १२ गते बिहानबाट डीपीएस स्कुलको मैदानमा सुरु हुने जानकारी ढकालले दिए । टेबल टेनिस कवर्ड हलमा हुने छ ।
सबै खेलको फाइनल खेल माघ १६ गते हुने छ । त्यही दिन सहिद रंगशालामा समापन कार्यक्रमको आयोजना गरिने हिसान अध्यक्ष ढकालले बताए । उनका अनुसार हिसान स्पोट्र्स मिटमा लाग्ने अनुमानित खर्च ३० लाख रुपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिने छ ।
ढकालले स्पोट्र्स मिटमा गत वर्षबाट महिला फुटबल र कबड्डी प्रतियोगिता थपिएको उल्लेख गरे । महिला फुटबल आयोजनाले हरेक वर्ष एक न एक जना राष्ट्रिय खेलाडी हिसान मोरङले नै उत्पादन गरेको खेलाडीमध्येबाट छनोट हुने अपेक्षा गरिएको उनले बताए ।
प्रतिक्रिया