इलाम : इलाम चौथो साहित्य महोत्सवको तयारी थालिएको छ । आगामी चैत १ र २ गते साहित्य महोत्सवको तयारी गरिएको हो ।
साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रवर्द्धन गर्ने उदेश्य राखिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार महोत्सवका लागि आयोजकले लोगोसमेत सार्वजानिक गरेको छ । पर्यटनका लागि साहित्य भन्ने सन्देशका साथ महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।
उनका अनुसार महोत्सवमा नेपाल, भारत, भियतनाम लगायत विभिन्न युरोपियन देशका साहित्यकारहरूको उपस्थिति रहनेछ । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि चौथो संस्करणको महोत्सवको तयारी गरिएको थाम्सुहाङले जनाए ।
इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा महोत्सव हुन लागेको इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिए । महोत्सवमा नेपाली सिने जगतका कलाकारहरूसहित राजनीतिज्ञहरूको पनि उपस्थिति रहनेछ ।
महोत्सवमा विभिन्न विषयमा छलफल र बहससमेत हुने उनले बताए । बहस कार्यक्रममा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग पनि अन्तरक्रिया आयोजना गरिने बताइएको छ । महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ । महोत्सवमा करिब साढे २२ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
प्रतिक्रिया