मोरङमा वादविवाद प्रतियोगिता माघ १६ गते, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथिको रूपमा आउने

विहीबार, १० माघ २०८१
विराटनगर : जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बनेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउने भएकी छन् । चुडाकवि स्मृति प्रतिष्ठानले माघ १६ गते प्रतियोगिता गर्दैछ । स्मृति बोर्डिङ स्कुलमा हुने प्रतियोगिताको प्रमुख अतिथिको रूपमा भण्डारीलाई निम्ता गरिएको प्रतिष्ठानले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले प्रतियोगितामा सहभागी हुन मोरङका सामुदायिक र संस्थागत गरेर ४८ वटा विद्यालय दर्ता भएको बताइन् । उनका अनुसार सहभागी हुने विद्यालय दर्ताको क्रम जारी छ । यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउन्डेसनले गर्ने न्यौपानेको भनाइ छ । ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै तर्फकालाई नगदसहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिने उनको भनाइ छ । प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार प्रदान गरिने छ । पक्ष र विपक्ष गरेर विजयी हुने ६ जनाले पुरस्कार पाउने छन् । सहभागी सम्पूर्ण विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी विद्यालयबाट एक छात्र र एक छात्राले वादविवादमा भाग लिन पाउने छन् । नेतृत्व र तर्क गर्ने क्षमताको विकासका लागि बालबालिकालाई अभ्यस्ता बनाउन वादविवाद गराउन लागिएको प्रतिष्ठानका सचिव सागर बरालले बताए । बरालका अनुसार प्रतियोगिता विगत चार वर्षदेखि भइरहेको छ । प्रतियोगितामा सिस्नुपानी नेपालका सरोज घिमिरे, लेखक सुविन भट्टराई र शिक्षा क्षेत्रका भेषजा काफ्ले निर्णायकको भूमिकामा रहनेछन् । प्रतिष्ठानका उपाध्यक्ष मणिराम न्यौपानेले वादविवाद प्रतियोगितासँगै बूढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकालाई सम्मानसमेत गरिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार