अब बीपी प्रतिष्ठानमा जलन र क्यान्सरको उपचार हुने, स्वास्थ्यमन्त्री भन्छन्– ‘स्वास्थ्य क्षेत्रको विकास पूर्ण छैन’

विहीबार, १० माघ २०८१
धरान : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि पूर्ण नभएको बताएका छन् । बिहीबार धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको विकास पूर्ण नभएको बताएका हुन् । प्रतिष्ठानमा जलन अस्पताल क्यान्सर उपचार इकाई र फार्मेसी भवनको भवनको उद्घाटन गरिएको हो । “यो अपूर्णतालाई अन्त्य गर्नका लागि प्रभावकारी सेवा उपलब्ध गराउनेगरी उपचारलाई अगाडि बढाउनुपर्छ । जसमा सस्तो, सर्वसुलभ र विपन्न वर्गलाई निःशुल्क उपचार हुनुपर्छ, यसका निम्ति सरकारले काम गरिरहेको छ,” उनले भने । उनले उक्त सेवा उपलब्ध गराउने पहिलो अस्पताल बीपी प्रतिष्ठान हुनुपर्नेसमेत बताए । सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकाले सबै किसिमका औषधी राख्न उनले निर्देशन दिए । फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न उनले निर्देशन दिए । खासगरी औषधीको सूचीसहितको बोर्ड राख्नसमेत आवश्यक रहेकोमा त्यसतर्फ ध्यान दिनुपर्ने मन्त्री पौडेलले बताए । क्यान्सर रोगको किमो दिन पनि काठमाण्डौँ र चितवन जानुपर्ने अवस्था रहेकोले आम नागरिकको सेवाको लागि सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । मन्त्री पौडेलका अनुसार धनगढी, भेरी, सुर्खेत लगायतका ठाउँमा उक्त योजनाको प्रक्रिया अघि बढिसकेको छ । नेपालको आठ अस्पतालमा जलनको उपचार गर्न विपन्न वर्गलाई निःशुल्क दिने निर्णय गरी लागू गरिएको मन्त्री पौडेलले बताए । काठमाण्डौँको वीर अस्पताल, कीर्तिपुर बीपी प्रतिष्ठानलगायतमा विपन्नका लागि निःशुल्क उपचार हुने उनले बताए । “यस अस्पतालले स्थानीय बिरामीहरूलाई मात्र नभएर अन्य क्षेत्रका बिरामीहरूले पनि सुविधा पाउँछन्, यो खुशीको कुरा हो,” उनले भने । नेपालमा स्वास्थ्य जनशक्ति पलायनको अवस्थासमेत भएकाले यसलाई निरूत्साहित बनाउन स्वास्थ्यकर्मीहरूलाई सहज एवम् तनावरहित वातावरणमा काम गर्न दिनुपर्ने उनले बताए । ३ वर्षअघि प्रतिष्ठानकै आन्तरिक स्रोतबाट निर्माण गर्न सुरू गरिएको उक्त भवन कोभिडको महामारीको कारण समयमा निर्माण गर्न नसकिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले बताए । भवनको पहिलो तल्लामा फार्मेसी सेवा, दोस्रो तल्लामा क्यान्सरको उपचार र तेस्रो तल्लामा जलनको उपचार हुने उनले बताए । जलनको उपचारका लागि २० वटा बेड र आईसियुको लागि १० वटा बेड तयार भएको उनले बताए । पूर्ण रूपमा उपचार सेवा सुरू गरेपछि थप सेवा विस्तार हुने उनले बताए । उक्त प्रतिष्ठान पूर्वकै गौरव गर्न लायक रहेको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले बताए । अस्पतालमा स्वास्थ्य सामाग्रीहरूदेखि मेसिनरी समानहरू, एमआरआई मेसिनलगायत बिग्रेका मेसिनहरू बनाउन वा खरिद गर्नमासमेत सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार