इटहरी : कोशी पर्यटन वर्षको मूल आयोजक समितिको कोशी टप्पुमा बैठक बसेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताए ।
उनले नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुई पक्षबाटै पहल गरिने बताए ।
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले भारतको बिहार, पश्चिम बंगाललगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सजीकरण गर्ने बताए ।
उक्त अवसरमा मुख्यमन्त्री कार्कीले भारत–नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गरे ।
कार्कीले भने, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’ मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो ।
कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठनसमेत गरेको छ ।
प्रतिक्रिया