झापा : मेला या महोत्सव मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य सााग्रीहरूको सूपथ मूल्यमा खरिद बिक्रीसमेत हुन्छ ।
तर, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन्, उनीहरूले शैक्षिक परामर्शदेखि पूर्वका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को समेत जानकारी पाइरहेका छन् ।
विभिन्न कन्सलटेन्सीहरूले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकडभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ ।
विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले निःशुल्क प्रवेशको व्यवस्था गरेसँगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ ।
विद्यालय पोसाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताए ।
महोत्सव स्थलमा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकडभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको पाइएको छ ।
‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बरावर जिम्मेवार’ सन्देशसहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराएको हो ।
पर्यटन प्रहरी कार्यालय काँकडभिट्टाले समेत ११ वुँदे अपिल सहित पर्यटक लाई स्थानीय पर्यटकीय गन्तव्यका वारेमा जानकारी गराउँदै पर्यटकको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । अपिलमा भनिएको छ – ‘ग्रामीण पर्यटनको प्रर्वद्धन गरौं, गन्तव्यहरूको सही सूचना सम्प्रेषण गरौं ।’
प्रतिक्रिया