इटहरीमा कर्मचारी सरुवाले देखिएको ‘काँग्रेस–एमाले’ टकराब 

शनिबार, १२ माघ २०८१
 इटहरी । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल गत पौष २८ गते उपमेयर सङ्गीताकुमारी चौधरीलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर छिमेकी मुलुक भारतको भ्रमणमा लागे । परिवारका साथमा स्वास्थ्य उपचारका लागि भारतमा मेयर सामाजिक सञ्जालहरूमा भारतका विभिन्न ठाउँको भ्रमणमा रमाइरहेको देख्न सकिन्छ । मेयर पौडेल शनिवार (आज) इटहरी आउँदै छन् । भारतमा रहँदै यता कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर सङ्गीता कुमारी चौधरी भने कार्यपालिका बैठक राख्ने देखी कर्मचारीप्रति आक्रामक बनेकी छिन् । शुक्रवार मात्रै चौधरीले प्रशासन शाखाका प्रमुख कर्मचारी सञ्जीव खड्काप्रति आक्रामक बनेको भिडियो यति वेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । शुक्रवार एमालेबाट निर्वाचित वडाध्यक्षहरूसहित खड्काको कार्यकक्षमा पुगेकी चौधरीको नेतृत्वमा यति वेला कर्मचारीको कार्यकक्षमा तालाबन्दी समेत गरिएको छ । कर्मचारीको सरुवा र सर्भर बन्द लगायतका विषयमा उपमेयर चौधरीले कर्मचारी खड्काप्रति आक्रोश पोखेकी थिइन् । उपमेयर चौधरीसँगै कर्मचारी खड्काको कार्यकक्षमा पुगेका वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीले कार्यकारी प्रमुखको आदेशको बेवास्ता कर्मचारीले गर्दा यस्तो अवस्था सृजना भएको बताए । प्रदेश खबरको सम्पर्कमा आएका सुवेदीले भने,‘मेयरले जथाभाबी कर्मचारीको सरुवा गरेर भारत लागेपछि हामीले कार्यवाहक मेयरको नेतृत्वमा कार्यपालिका बैठक बसेर कर्मचारी सरुवाको निर्णय रद्द गरेका थियौँ । तर, निर्णय कार्यान्वयनमा अवरोध भएकाले चर्काचर्कीको अवस्था आएको हो ।’ सुवेदीले कार्यकारी प्रमुखको निर्णय कर्मचारीले नमानेर कर्मचारीले काँग्रेसको राजनीति गरेको देखिएको उल्लेख गरेका छन् । उपमेयर चौधरीले पनि खड्कालाई गाली गर्दै’ यहाँबाट निस्किहाल्नुस्, तपाईँको काम छैन, कर्मचारी भएर काँग्रेसको राजनीति गर्नुहुन्छ ?  भन्दै झपारेकी थिइन् । खड्काले भने आफूले प्रमुख प्रशासकीयको आदेशमा सरुवा कार्यान्वयन मात्र गरेको बताउँदै मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग कुरा गर्न भन्दै उपमेयरलाई जवाफ फर्काएका थिए । उपमेयरको निर्देशनअनुसार ताला भने खुल्ने वडाध्यक्ष सुवेदीले बताए । उनले थपे, ‘हामीले बाहिरको ताला लगाएका हैनौँ । त्यहीँको ताला लगाएकाले उपमेयरले भनेपछि खुल्छ नै । मुख्य कुरा कार्यकारी प्रमुखको निर्णय कार्यान्वयनको कुरा भएकाले इटहरीको आफूखुसीसि विरुद्धको कदम हो यो ।’ यसअघि उपमेयर चौधरीकै नेतृत्वमा कार्यपालिका बैठक बसेको थियो । जुन बैठकले कर्मचारी सरुवा जथाभाबी रूपमा गरिएको भन्दै सो निर्णय रद्द गर्नेका साथै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र उनै शाखा प्रमुख खड्कालाई कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ । यता इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहताले यो विषयलाई छलफलबाट समाधान निस्कने बताए । ‘हिजो जस्तो घटना भयो त्यहाँ कर्मचारीको पनि गल्ती भयो होला, उहाँहरुपनि त्यसरी आउनु हुँदैन थियो होला यसलाई नियम कानुनसम्मत जानुपर्ने हुन्छ ।’ कार्यपालिकाले आफूलाई समेत कारबाहीको सिफारिस सम्बन्धको प्रश्नमा मेहताले जोडे, ‘म त्यस दिन बिदामा थिएँ यो राणा शासन जस्तो त होइन नि, कानुन अनुसार चल्नुप¥यो ।’ यता काँग्रेस निकट श्रोत भने कर्मचारीलाई उपमेयर जस्तो पदमा भएको व्यक्तिले पार्टीको झन्डा बोकेको आक्षेप लगाउनु गम्भीर रहेको बताउँछ । ‘जो कर्मचारीलाई काँग्रेसको राजनीति गरेको आरोप लगाइएको उहाँको कुनै पनि सङ्गठनको सदस्यता छैन ।’ निकट श्रोतले भन्यो । यस्तै उपमेयरले कर्मचारीको उपस्थिति विना आफ्ना केही वडाध्यक्षको नेतृत्वमा बसेको बसेको बैठकको पनि औचित्य नभएको मेयर निकट श्रोतको दाबी छ । यता इटहरीको यो घटनालाई नजिकबाट नियाल्नेहरू भने ‘काँग्रेस–एमाले’ बिचको द्वन्द्व सतहमा आएको बताउने गर्दछन् । किनभने पछिल्लो मेयर पौडेलकै नेतृत्वमा भएको कार्यपालिका बैठकमा पनि उपमेयर चौधरीले ‘नोट अफ डिसेन्ट’ राखेकी छिन् । खास गरी इटहरीमा मेयर पौडेल नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन भने उपमेयर एमालेबाट निर्वाचित भएकी हुन् । इटहरीको कार्यपालिका तथा नगर सभा दुवै तर्फ भने एमालेकै बहुमत रहेको छ । यस्तो अवस्थाको इटहरीमा मेयर पौडेलले आफ्नो निर्णय कार्यान्वयन गराउँदा बेला बखतमा टकराब सृजना भइरहन्छ । जुन कार्यकर्ता तहसम्मै पुग्ने गर्दछ ।  

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार