‘कर्मचारीहरूले सबै सूचना अपडेट गर्नुपर्छ’

आइतबार, १३ माघ २०८१
विराटनगर : राष्ट्रिय सूचना आयोगले कोशी प्रदेशमा रहेका कार्यालय प्रमुख, सूचना अधिकारीहरूसँग आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरूपयोग गर्ने क्रम बढेको बताएका छन् । आइतबार (आज) विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठीक ढंगले सदुपयोग गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरूपयोग पनि बढेको जस्तो देखिन्छ ।’ संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्नतर्फ लाग्नुपर्ने उनले औंल्याए। आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुशिक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्ने उनले बताए । सूचनाको हकले पारदर्शीता र जवाफदेहीता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । निश्चित व्यक्तिले होइन, आम समुदायले सूचनाको सदुपयोग गर्नुपर्ने गरी अघि बढ्नका लागि उनले सुझाव दिए । कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रूपमा काम गर्नेहरूले डराउनुनपर्ने बताए । उनले भने, ‘तपाईं हामीले पारदर्शी ढंगले काम गर्यौ भने सूचना लिने पनि र दिने पनि डराउनुपर्दैन ।’ आयोगले अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउनेतर्फ लाग्नेसमेत उनले बताए । गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताउँदै उनले भने, ‘कर्मचारीहरूले पनि सबै सूचना अपडेट गर्नुपर्छ।’ सूचना दिन पन्छिने भन्दा पनि पुराना सूचनाहरूलाई अपडेट गर्दै जाँदा झन्झट नहुने उनको भनाइ छ । त्यसैगरी आयुक्त गगन विष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै सूचनाका विविध आयामका बारेमा प्रकाश पारेका थिए । कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताए । उनले अहिलेको प्रमुख समस्या सूचना अभिलेखीकरण भएको बताए । कार्यक्रममा आयोगका सचिव कमल भट्टराईलगायतले धारणा राखेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार