विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले मंगलबार विराटनगरमा प्रदर्शनको तयारी गरेका छन् । प्रदर्शनको तयारी भएपछि यहाँको सुरक्षा व्यवस्था कसिलो बनाइएको प्रशासनले जनाएको छ ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेश १ को नाम कोसी राखेको थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशको नाम ‘किरात–लिम्बूवान–सगरमाथा’ प्रस्ताव गरेपनि प्रदेशसभाबाट अस्वीकृत भएको थियो ।
एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोसी प्रस्ताव गरेपछि उक्त नाम प्रदेशसभाबाट भारी बहुमतले पारित भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा कोसीको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।
प्रदेशसभाले कोसी नामकरण गरेपछि यसको विरोधमा पहिचानवादी संगठनहरुले प्रदर्शन गर्दै आएका छन् । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरुको मुख्य माग छ ।
विरोध प्रदर्शनका क्रममा सहभागी भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर ४२ वर्षीय पदम लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो ।
आन्दोलनरत पक्षले सुरक्षाकर्मीको लाठी प्रहारबाट लिम्बूको मृत्यु भएको दाबी गरेका छन् । घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि यस प्रकरणले नयाँ मोड लिएको छ ।
आन्दोलनकारीले प्रहार गरेको लाट्ठी उनको टाउकोमा लागेको भिडियोमा देख्न सकिन्छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत ८ गते भर्ना गरिएका उनको चैत १० गते बिहान मृत्यु भएको थियो ।
प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिवापत ३ लाख रूपैयाँ दिने निर्णय गरिसकेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भिडियो अनुसार घटना स्थापित भएमा लाठी प्रहारमा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।
‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ ले आइतबार प्रदर्शन गर्ने भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ का अनुसार बिहान ११ बजेदेखि शान्तिपूर्ण प्रदर्शनको तयारी छ ।
झापाको बिर्तामोड, दमक, उर्लाबारी, इटहरी, धरानलगायतका पालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको उनले जनाए ।
कोसी नाम खारेज, लिम्बूलाई राष्ट्रिय शहीद घोषणा तथा घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग आफूहरुले राखेको लिङ्देनको भनाइ छ । सुरक्षाकर्मीकै कुटाइबाट लिम्बूको मृत्यु भएको र घटनासँग सम्बन्धित भिडियो ‘फेक’ रहेको उनको दाबी छ ।
आफूहरुसँग हातहतियार नभएकाले आन्दोलन शान्तिपूर्ण हुने दाबी उनको छ । ‘हामी हतियार हैन, मुड्की उचालेर आन्दोलनमा आएका हौँ,’ लिङ्देनले भने, ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ मधेसमा नाम राख्दा गोप्य मतदान भएको र प्रदेश १ मा गोप्य मतदान नभएको उनको भनाइ छ ।
उनले १७ गते काठमाडौंमा पनि प्रदर्शन गरिने बताए । यसैबीच पहिचान पक्षधरको आन्दोलन र प्रदर्शनलाई लक्षित गरेर विराटनगरलगायत प्रदेशका विभिन्न स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनका नाममा तोडफोड, आगजनीलगायत हिंसात्मक घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सवारीसाधन तथा सार्वजनिक स्थलमा प्रहरीले जाँच बढाएको हो । आन्दोलनलाई उत्तेजित बनाउन खोज्नेमाथि निगरानी बढाउन र आन्दोलनलाई आक्रामक हुन नदिन विराटनगरमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
–विराटनगरमा गत साता भएको प्रदर्शन । फाइल तस्बिर
प्रतिक्रिया