इलामका नौ हजार आठ सय किशोरीलाई 'एचपीभी' खोप लगाइने

मंगलबार, १५ माघ २०८१
इलाम : इलाममा नौ हजार आठ सय २८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको 'एचपीभी' खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामका अनुसार आउने माघ २७ देखि फागुन २ गतेसम्म अभियान सञ्चालन गरेर खोप लगाउने भएको हो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका कक्षा ६ देखि १० मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका छात्रालाई यो खोप लगाइने भएको स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए । कोशी प्रदेशमा दुई लाख चार हजार नौ सय ७४ जनालाई यो खोप लगाइने बताइएको छ । भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै पालिकाबाट तथ्याङक सङ्कलन गरिएको छ । यो खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकाले सबै बालिकाहरूलाई लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पण्डितले जनाए । इलामका १० वटै पालिकामा एकैपटक यो अभियान सञ्चालन हुने उनले बताए । नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले 'एचपीभी' खोप अभियान सञ्चालन गरेको हो । पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ । यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार