इलाम : ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । बन्दको प्रभाव इलामसम्म परेको छ ।
पाथिभरा मन्दिर रहेको ताप्लेजुङमा यसको प्रभावले खास सवारी सञ्चालन हुन सकेका छैनन् । यसको प्रभाव पाँचथरमा समेत परेको छ ।
इलाममा गाउँबाट केही सवारी आएपनि सदरमुकाममा यसको प्रभाव परेको छ । यहाँ प्रहरीको स्कटिङका केही गाडी सञ्चालन भएपनि लामो दुरीका सवारी चल्न सकेका छैनन् ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर नो केबलकार समूहले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।
आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ ।
यता, तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ ।
मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ ।
मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
बन्दका कारण जनतालाई सास्ती भएको छ । बन्दले दैनिक गर्दै आएको काममा असर पुगेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया