बुढासुब्बा गोल्डकप : चर्च ब्वाइजसँग पुलिस स्तब्ध

शनिबार, १९ माघ २०८१
धरान : २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजका लागि सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल रोक्नबाट चुकेको थियो । तुलनात्मक रूपमा चर्च ब्वाइजले पहिलो हाफ भन्दा राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको १० औं मिनेटमा पुलिसका राम वजीले डिबक्सबाट प्रहार गरेका बल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको १९ औं मिनेटमा सन्जित लामाको पासमा विवेक पाण्डेले प्रहार गरेको बल चर्च ब्वाइजका गोल किपरले मुस्किलले पञ्च गरेका थिए । चर्च ब्वाइजका समीर तामाङले खेलको २४ औं मिनेटमा प्रहार गरेको बल गोल किपर सञ्जीव श्रेष्ठले मुस्किलले बचाएका थिए । खेलको ७० औं मिनेटमा चर्च ब्वाइजका दिपेश गुरुङले मिलाइदिएको लामो पासलाई समीर तामाङले डिबक्सबाट गोल गर्न चुके । माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् । प्रतियोगिता २५ औं संस्करण पुगेको रजत जयन्तीको अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार