इटहरी : ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने विषयमा सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको छ ।
मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।
जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा बन्द गरिएको हो । बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ ।
केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था उभिएका छन् ।
केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको छ ।
केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने बताउँदै यसका लागि स्थानीय रूपमा गठित विभिन्न संघसंस्था सक्रिय छन् ।
खासगरी गत शनिबार काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएपछि विवादले उग्ररुप लिएको हो ।
झडपका क्रममा चारजना गम्भीर घाइतेसमेत भएका थिए । स्थानीयको चाहनाविपरीत राज्यसत्ताले प्रहरी, प्रशासनको बल प्रयोग गरेको फेम्बूको आरोप छ ।
प्रतिक्रिया