विराटनगरमा मामाघर आएकी बालिकाको हत्या प्रकरण : घाँटी थिचेर हत्या गरिएको आशंका

सोमबार, २१ माघ २०८१
विराटनगर : विराटनगर महानगरपालिका–५ विशाल चोकस्थित मामाघर आएकी बालिकाको कसरी हत्या भयो भनेर अहिलेसम्म प्रहरीले यकिन गर्न सकेको छैन । हत्यामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता यकिन गरेको प्रहरीले चाँदनीलाई कसरी मारियो भनेर पत्ता लगाउन सकिरहेको छैन । प्रहरीले हत्यामा संलग्न भनेर चाँदनीका बुवा भारत बिहारको छपरा जिल्ला घर भएका अन्दाजी ४० वर्षीय लालमन राय यादव, आमा ३९ वर्षीया राजकुमारी राय यादव, मावली हजुरबुवा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डलमाथि अनुसन्धान गरिरहेको छ । उनीहरूकै मिलेमतो र संलग्नतामा चाँदनीको हत्या भएको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्न भनिएकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर, चाँदनीको हत्या कसरी गरियो भनेर यकिन हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘पक्राउ परेकाहरूले हत्याबारे प्रष्ट कुरा बताइसकेका छैनन् । घटनाका बारेमा बोल्नै चाहँदैनन्,’ उनले भने, ‘हामीले निरन्तर सोधपुछ गर्दै थप अनुसन्धान गरिरहेका छौं । केही दिनमा यथार्थ आउला ।’ उनका अनुसार पक्राउ परेकाहरूले घटनाबारे खुलाउन नचाहे पनि कुटपिट गरेर हत्या गरेजस्तो देखिँदैन । घाँटी थिचेर बालिकाको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । ‘घाँटी थिचेर श्वासप्रश्वासमा अवरोध पुर्याइ हत्या गरिएको हुनसक्ने देखिन्छ । अहिलेसम्मको अनुसन्धानले कुटपिट गरेर हत्या गरेजस्तो देखिँदैन । शरीरका अंगमा नीलडाम र चोटपटक छैन । सडेर दुर्गन्धित भइसकेको शव फेला परेकाले पनि हत्या कसरी भयो भनेर यकिन गर्न गाह्रो भयो,’ डीएसपी जोशी भन्छन् । उनले घटना कसरी गराइयो भनेर यकिन गर्न प्रहरीले पोस्टमार्टम रिपोर्ट पर्खिरहेको बताए । ‘केही दिनभित्रमा पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुन्छ । हत्या गरिएको कुरामा दुईमत भएन । मारिसकेपछि शव गाडिएकै हो । तर, हत्यामा संलग्नले भने अहिलेसम्म कुरा लुकाइरहेका छन्,’ उनले भने । चाँदनीको हत्यामा बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब एक महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । बाबुआमा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घरतर्फ फर्किएका थिए । ‘भारतमा एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मामली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारत घर भएकी चाँदनीको उतै एक युवकसँग प्रेम सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको छ । अहिलेसम्म प्राप्त प्रमाणले विवाद बढ्दै गएपछि बाबुआमाकै मिलेमतोमा मावली परिवारसमेतले घाँटी थिचेर हत्या गरी खाल्डो खनेर शव व्यवस्थापन गरेजस्तो देखिने डीएसपी जोशीले बताए । उनले घटना भएको दिनको सीडीआर (कल डिटेल्स रेकर्ड)को पनि अध्ययन भइरहेको बताए । ‘त्यो दिन कसको कोकोसँग कुरा भएको रहेछ भनेर सीडीआरको अध्ययन पनि गरिरहेका छौं । घटनामा अरूको संलग्नता छ कि छैन भनेर थप अनुसन्धानपछि पत्ता लाग्छ,’ उनले भने । शवको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव सोमबार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । चाँदनीका बाबु लालमन र आमा राजकुमारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । मावली परिवारका अन्य चार जना त्यसअघि नै पक्राउ परेका थिए । हत्यापछि घरनजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको थियो । बालिकाको माघ ११ गतेतिर हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । यो पनि – विराटनगरमा मावली आएकी चाँदनी हत्या प्रकरण : बाबुआमा पक्राउ, ६ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप यो पनि – विराटनगरमा मामाघर आएकी बालिकाको हत्या प्रकरण : बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार