चितवन : साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोपमा रवि लामिछानेलाई हिरासतमा पठाउने आदेश भएको छ।
चितवन जिल्लाका न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पठाइएको हो ।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ ।
चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए । आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो।
पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको थियो ।
बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारी १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।
अदालतमा पेस गरिएको एक सय नौ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।
प्रतिक्रिया