सुनसरीमा २९६ केजी गाँजा बरामद

विहीबार, २४ माघ २०८१
सुनसरी : सुनसरी प्रहरीले विशेष अभियानअन्तर्गत ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध तस्करी नियन्त्रण गर्न सञ्चालन गरेको अभियानअन्तर्गत गोप्य सूचनाको आधारमा स्कारपिओ गाडीबाट करिब २९६ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो। माघ २४ गते  बिहान ३:३० बजे इन्डियन प्लेट नम्बर (एच आर ७० ई ९५०२) भएको स्कारपिओ गाडीमा गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले जिल्लाको दक्षिणी सीमा क्षेत्र ब्लक गरी कडाइका साथ चेकजाँच सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय चिमडीका प्रहरी बरिष्ठ नायव निरिक्षक कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले छिटाहा नहर नजिकै गाडीलाई रोक्ने प्रयास गरे पनि गाडी प्रहरीले राखेको बेरीगेटलाई ठक्कर दिँदै अघि बढेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगराबाट प्रहरी नायव निरिक्षक गणेश दाहालको कमाण्डमा अर्को प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा देवानगंज गाउँपालिका-७ सिनवारीस्थित सडकखण्डमा स्कारपिओ गाडी अनियन्त्रित भई सडकभन्दा १० फिट तल खसेको अवस्थामा फेला परेको थियो। बिहान करिब ६:४० बजे गाडी नियन्त्रणमा लिएपछि प्रहरीले तलासी गर्दा गाडीभित्र प्लास्टिकको बोरामा राखिएका १० पोका गाँजा र गाडी नजिकै उखुको ढोडमा लुकाइएको थप ४ पोका गाँजा बरामद गरेको थियो। गाँजा ओसारपसारका लागि प्रयोग गरिएको उक्त स्कारपिओ गाडीलाई स्कर्टिङ गर्न प्रदेश २-०३-००९ प ०९९७ नम्बरको कालो-निलो रंगको २२० सिसी क्षमताको मोटरसाइकल  नियन्त्रणमा लिएको छ। हाल गाडी चालक फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार