युवकलाई ब्ल्याकमेल गर्दै रकम माग, नदिए जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिने युवती पक्राउ

विहीबार, २४ माघ २०८१
काठमाडौँ : युवकलाई ब्ल्याकमेल गर्दै रकम माग गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१३, कुलेश्वरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार अस्मिताले इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने क्रममा चिनजान भएको युवकलाई ब्ल्याकमेल गर्दै रकम मागेकी थिइन् । ६ महिनाअघि, राइस कुकर मर्मत गर्ने क्रममा अस्मिताको नजिकै रहेको स्टोरका युवकसँग चिनजान भएको र युवतीलाई युवकले पैसा पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकिएपछि पटकपटक कुराकानी गर्ने र पछिल्लो समय अस्मिताले ती युवकलाई मलाई पैसा दे, नत्र जबरजस्ती करणीको मुद्दा लगाएर प्रहरी र तिम्रो परिवारलाई भन्दिन्छु भनेर धम्काउन थालेपछि १० लाख रुपैयाँ माग गरेको खुलेको छ । यसबारे युवकले प्रहरीमा आफू निर्दोष हुँदा पनि फसेको भन्दै उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अहिले युवतीलाई आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार