पालिकाको सार्वजनिक सुनुवाईः समृद्ध नगर बनाउन जोड

शुक्रबार, १७ चैत्र २०७९
इलाम । इलामको देउमाई नगरपालिकामा पहिलो पटक खुल्ला सार्वजनिक सुनुवाई भएको छ । नगरपालिकाले प्रवाह गर्ने सेवाका बिषयमा सार्वजनिक सुनुवाइ भएको हो । स्थानीय तहले प्रवाह गर्ने सेवाका बिषयमा सार्वजनिक सुनुवाई गर्नु पर्दछ । तर स्थानिय तहले नगरेपछि आफुहरुले सो कार्यक्रम आफ्नै ब्यवस्थापनमा गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम परिवर्तनका लागि आवाज नामक संस्थाले साझा सवाल कार्यक्रम गरेको थियो । स्थानीय जनताले जनप्रतिनिधिलाई मंगलबारे चोक बजारमा खुल्ला रुपमा प्रश्न गर्न पाएका थिए । देउमाईका जनताले आफुले जिताएर गएका जनप्रतिनिधिलाई सार्वजनिक स्थलमा नै खुल्ला रुपमा प्रश्न गर्न पाएकोमा खुसी ब्यक्त गरे । कार्यक्रमलाई परिवर्तन नामक संस्थाका संयोजक सुजन बाँस्तोलाले सहजीकरण गरेका थिए । कार्यक्रम उद्घाटन पश्चात जनताबाट आएका लिखित उजुरी माथी उनले नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल, प्रमुख प्रशासकिय अधिकृत हरि दाहाल, शिक्षा शाखा प्रमुख रुपेन्द्र न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद भट्टराई, कृषि शाखा प्रमुख रामचन्द्र कट्टेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रबहादुर घिमिरे लगायतलाई प्रश्न गरेका थिए । महालेखा परिक्षकको कार्यालयबाट भएको परिक्षणलाई आधार बनाएर आयोजकले नगरप्रमुख तथा नगरका सम्वन्धित शाखालाई प्रश्न गरिएको थियो । स्वास्थ्य तथा कृषि सामग्री खरिदमा अनियमितता भएको भन्दै किन यस्तो भयो भनेर सम्वन्धित शाखाबाट उत्तर मागिएको थियो । नगरपालकाले हाल ६० प्रतिशत अनुदानमा किसानलाई टनेल वितरण गरिरहेको छ । वितरण हुने टनेललाई प्रचलित मूल्य करिब छ हजार पर्ने भए पनि ४५ सय किसानहरुबाट नै रकम असुलेर ६० प्रतिशत अनुदान भनिएको भन्दै गुनासो राखिएको थियो । कृषि शाखा प्रमुख कट्टेलले प्रतिवेदनमा भएअनुसार काम नभएको बताएका थिए । उनले सामान खरिद गर्दा सम्वन्धित किसानलाई नै भुक्तानी दिएको बताए । साथै टनेलको समेत गुणस्तर हेरर मूल्य तलमाथि पर्ने बताएका थिए । त्यस्तै स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य शाखा प्रमुख भट्टराईलाई प्रश्न गरिएको थियो । शाखा प्रमुख भट्टराईले कोटेशन आह्वान गरेर सामान खरिद गर्ने गरिएको बताएका थिए । उनले कोटेशन आह्वानपछि आएका मध्येबाट पनि कम मूल्यमा आएको कोटेशनलाई प्राथमिकतामा राखेर सामान खरिद गरिएको बताए । तर स्वास्थ्य शाखाले प्रचलित मूल्यभन्दा करिव एक लाख बढी मूल्यमा सामान खरिद गरेको भन्दै गुनासो कार्यक्रममा राखिएको थियो । शिक्षा शाखा प्रमुख रुपेन्द्र न्यौपानेलाई शिक्षक छनौटका क्रममा अनियमितता भएको भन्दै गुनासो राखिएको थियो । शाखा प्रमुख न्यौपानेले गल्ती भएको हुनसक्ने भन्दै गल्ति स्वीकारे तर माफी माग्न चाहेनन् । स्थानीय राम राईले नगरपालिकाले ऐन कानुन निर्माण नगरेको बताएका थिए । उनले १० मिटरका सडक निर्माण कार्य कता गयो भनेर प्रश्न राखेका थिए । साथै गएको वर्ष खनिएको देउमाई नगरपालिका २ को सडक यसपटक समेत पाँच लाख रकम बिनियोजन गरेर खनिएको र स्थानियले विरोध गरेपछि अन्यन्त्रै रकमान्तर गर्न लागिएको भन्दै खबरदारी गरेका थिए । मुनादेवी श्रेष्ठले अस्पतालमा अत्याचार बढेको बताइन् । उनले मंगलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीले सेवाग्राहीमाथि अभद्र ब्यवहार गर्ने गरेको बताएकी थिइन् । डाक्टरको काम पनि कार्यालय सहयोगीबाट हुने गरेको भन्दै उनले स्वास्थ्य केन्द्रमा सुधार गर्न आवश्यक रहेको बताइन् । उनले एकल पुरुषलाई दिइने सामाजिक सुरक्षा भत्ताको प्रशंसा गरिन् । स्थानीय धनराज लामाले वडा नम्वर पाँचमा रहेको खेलमैदान सुधार नभएको बताए । चुनाव अघि भोट माग्दा तत्काल खेलमैदान निर्माण गर्ने भनिए पनि एक वर्ष बित्नै लाग्दा समेत वडाध्यक्ष तथा जनप्रतिनिधिले काम नगरेको धारणा राखेका थिए । उनले वडाको सडक विस्तार गर्न विनियोजित १७ लाख रकमको काम नभएको बताएका थिए । उनले वडाध्यक्ष र नगरपालिकाबाट सो खेलमैदान निर्माण नगर्ने हो भने आफैँ लागेर भएपनि खेल मैदान निर्माण गर्ने चुनौती दिए । मिलन दर्जीले नगरपालिकाले दिने जस्तापाता दलित समुदायसमक्ष नपुग्ने गरेको दुखेसो गरे । स्थानिय राजु कट्वालले एम्बुलेन्स र शब बहान खरिद गर्न आवश्यक रहेको बताएका थिए । आफुखुसी र मनपरी तरिकाले रकम बिनियोजन गर्न भन्दा पनि बिधान अनुसार अघि बढ्न आवश्यक रहेको बताए । बिपन्न परिवारलाई वितरण गर्न ल्याइएको जस्तापाता पक्की घर बनाउनेहरुले समेत पाएको तर गरिव र सुकुम्बासीहरुले नपाएको गुनाशो गरेका थिए । साथै अनुदानमा सामान वितरणको प्रतिफल खोज्न नगरपालिका नलागेको, पटक पटक एकै ब्यक्तिलाई अनुदान दोहोर्याएर दिइने गरेको दुखेसो गरेका थिए । स्वास्थ्य सेवाको पहुँच नौ वटै वडामा विस्तार हुन नसक्दा विरामीलााई समस्या भएको बताएका थिए । नगरपालिकाले खाजा खर्चमा नै मोटो रकम खर्च गरेको तर केही नगरबासी खाजाकै लागि दुख गर्नु परिरहेको बताएका थिए । महालेखा परिक्षणका क्रममा ३८ लाख ५० हजार खाजामा खर्च भएको उल्लेख गरिएको छ । नगरपालिका प्रमुख पोख्रेलले ९ वटा वडा तथा मन्त्रालयका कार्यक्रम समेत भएकाले सो रकम खर्च भएको बताएका थिए । साथै आफुहरु समेत देश संघियतामा गएपछि संघियताकै अध्यासमा रहेकाले केही सिक्ने अवस्थामा नै रहेको धारणा राखेका थिए । साथै गरिव र बिपन्नलाई दिँइदै आइएको जस्तापाता वितरण अझ प्रभावकारी बनाउन पहल गर्ने बताए । सुकुम्वासीलाई समेत जस्तापाता वितरण थालिएको उनको भनाई छ । एम्बुलेन्स र शब बहान समेत चाँडै ल्याउने उनको भनाई छ । नगरवासीहरुले सफा पिउने पानीको प्रवन्ध गर्नुपर्ने, नगरलाई समृद्ध बनाउन जनप्रतिनिधि लाग्नु पर्ने नगरवासीको सुझाव छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार