प्रदेश नामकरणमा असन्तुष्ट पहिचानवादी कार्यकर्ताद्वारा वडा कार्यालय तोडफोड

शुक्रबार, १७ चैत्र २०७९
इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर असन्तुष्ट बनेका पहिचानवादी संगठनका कार्यकर्ताले वडा कार्यालय तोडफोड गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयमा उनीहरुले शुक्रबार बिहान तोडफोड गरेका छन् । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालयमा तोडफोड गरिएको थियो । कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्डमा पनि क्षति पुर्याएको उनले बताए । ‘बन्द गर्ने सन्दर्भमा हामीले छलफल गरिरहेका थियौँ, संयमपूर्वक छलफल भइरहेको थियो, अचानक ढुंगामुढा भयो,’ उनले भने, ‘बन्द गर्नु एउटा कुरा तर क्षति हुने किसिमले वडा कार्यालयमा प्रहार गर्नु त ठिक भएन ।’ इटहरी २० मा तोडफोड गरेपछि आन्दोलनकारीहरू इटहरी १९ तर्फ गएका छन् । यस्तै, तरहरा प्रहरी चौकीको गाडी समेत तोडफोड गरिएको छ । ना १ झ ६२० नम्बरको प्रहरीको गाडी तोडफोड गरिएको हो । वडा कार्यालयमा पुुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गर्न थालेका थिए । ढुंगामुढाले प्रहार हुँदा केही प्रहरी घाइते भएका छन् । पछिल्लो समय प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचान पक्षधरहरू आन्दोलनका गतिविधिमा सक्रिय हुन थालेका छन् । शान्तिपूर्ण आन्दोलन र वार्तामार्फत माग सम्बोधन हुने भएपनि पहिचान पक्षधरले हिंसात्मक आन्दोलनमा सक्रिय हुँदा भौतिकसँगै मानवीय क्षति हुने कतिपयको विश्लेषण छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार