सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा शुक्रबार इनरुवा नगरपालिका-१, नूतन पेट्रोल पम्प अगाडि सार्वजनिक सडक छेउमा भारतीय नम्बरप्लेट भएको बिआर ३८ ए के ०२११ नम्बरको आर एन ५० मोटरसाइकलमा सवार दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरू भारतको बिहार राज्य, अररिया जिल्लाको नरपथगञ्ज थाना अन्तर्गत सोनापुर-१ बस्ने ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन्।
प्रहरीले सोधपुछ र खानतलासी गर्दा कपिल मेहताको हाफ ज्याकेटको भित्री गोजीबाट प्लास्टिकको पोका भित्र लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
बरामद लागूऔषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा १०३.६९० ग्राम रहेको प्रहरी निरीक्षकको टोलीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान जारी राखिएको छ।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको जनाएको छ।
प्रतिक्रिया