धरान : महिलाका हकअधिकार कानुनमा लेखिए पनि व्यवहारमा अक्षरंश पालना हुन नसक्दा दैनिक रूपमा महिला हिंसा भइरहेका घटना विद्यमान छन् ।
महिला हिंसा न्यूनीकरणका लागि समानुपातिक समावेशी प्रतिनिधित्व, लैंगिक समता, आर्थिक सबलीकरण, सम्पत्तिमा समान हक, न्यायमा महिलाको सहज पहुँच, छिटो छरितो न्याय प्रणालीहरू भएपनि यसको व्यवहारिक रूपमा प्रभाव नभएको विभिन्न घटनाक्रमले देखाइरहेका छन् ।
घरेलु हिंसामा धेरैजसो महिलाहरूले उजुरी गर्ने गरेपनि पछिल्लो समय पुरुषहरूले पनि उजुरी गर्न थालेका छन् । जसको कारण सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक अभावका कारण वैदेशिक रोजगारमा जाने, बढ्दो बेरोजगारी आदिका कारणहरूले गर्दा पुरुष हिंसासमेत बढ्दै गएको हो ।
बढ्दो बेरोजगारी सँगै नेपाली समाजमा शिक्षित व्यक्तित्वहरूमा पनि यस्तो किसिमको समस्या रहेको पाइएको छ । यसको असर घर, परिवार, समाज राज्यमा छ भने मुख्य रूपमा घरपरिवारका कारण बालबालिकालाई असर पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेन साइबर सेफ्टी परियोजनाको अधिकृत लीला भुजेल बताउँछिन् ।
दैनिक रूपमा सञ्चार माध्यमबाट साथै सामाजिक सञ्जालबाट बलत्कार एवम् महिला हिंसा सम्बन्धी समाचार नभएको प्रायः हुँदैन । महिला हिंसा न्यूनीकरण गर्न राज्य पक्षबाट विभिन्न कार्यक्रमहरू गरी मनाइने गरिएपनि यसको न्यूनीकरणका लागि प्रभावकारी नभएको उनको तर्क छ ।
अघिल्लो साउन महिनामा महिलाहरूकै कुटपिटबाट धरान–१३ बस्ने एकल महिला उषा राईको निधन भयो ।
यसैगरी गत भदौ महिनामा केके इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष प्रविण अग्रवालले सोही स्कुल पढ्ने एक १२ वर्षीया विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको घटना बाहिरियो ।
माथि उल्लेखित घटना केही प्रतिनिधि मात्र हुन् ।
यौन शोषण, घरेलु हिंसा लगाायत अपराधबाट महिला, बालबालिकाहरू पीडित हुने क्रम घटेको छैन । यद्यपि, पछिल्लो समय पुरुषहरूले पनि घरेलु हिंसामा उजुरी गरेको इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कले देखाएको छ ।
धरान उपमहानगरमा मात्र गत साउन महिनादेखि माघ महिनासम्म घरेलु हिंसामा ४४ वटा उजुरी दर्ता भएको डीएसपी प्रकाश जबेगुले बताए । उनका अनुसार ४१ वटा फछ्र्यौट गरिएको र तीन वटा अदालतमा मुद्दा चलिरहेको छ । लैङ्गिक हिंसामा ८८ वटा उजुरी परेको छ ।
जसमा १९ जना पुरुषले र ६९ वटा महिलाले उजुरी गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
‘हामीकहाँ आएका उजुरीमध्ये धेरैजसोलाई सम्झाएर मिलापत्र गराउने कोसिस गर्दै आएका छौँ,’ डीएसपी जबेगुले भने, ‘अधिकांश उजुरी मिलापत्र गराउने प्रयास हुन्छ । नमिलेको अवस्थामा अदालतसम्म केस जान्छ ।’
आर्थिक वर्ष २०७७/०७८ मा दुई सय एक वटा उजुरी परेकोमा ९५ वटा उजुरीमा मिलापत्र गराएको उनले बताए ।
यसैगरी २०७८/०७९ मा घरेलु हिंसाका एक सय ६० वटा र लैङ्गिक हिंसामा एक सय जनाले उजुरी गरेका छन् ।
जसमा घरेलु हिंसामा ९६ वटा र लैङ्गिक हिंसाका ७५ वटा उजुरीमा मिलापत्र गरिएको प्रहरीको तथ्याङ्कमा छ । बाँकी रहेका मुद्दा भने अदालतमा गएका छन् ।
२०७९/०८० मा घरेलु हिंसामा दुई सय ७२ जना र लैङ्गिक हिंसामा एक सय ५७ जनाले उजुरी गरेकोमा घरेलु हिंसाको सम्बन्धमा एक सय १५ र लैङ्गिक हिंसामा एक सय १० वटा उजुरीमा मिलापत्र गराएको छ ।
यसैगरी २०८०।८१ मा लैङ्गिक हिंसामा एक सय ७९ वटा उजुरी परेको र घरेलु हिंसा एक सय ८२ वटा उजुरी परेकोमा सबै फर्छौट भएको छ ।
धरान उपमहानगरमा गत वर्षको तुलनामा यो वर्ष घरेलु हिंसाका उजरी बढेको उपमहानगरले जनाएको छ । खासगरी घरेलु हिंसामा महिला पीडित छन् । उनीहरूले आफूलाई कुटपिट गर्ने गरेको जनाएका छन् ।
सामन्यतयाः महिला भएकै कारण मानसिक शारीरिक, यौनिक, आर्थिक, वौद्धिक तथा यौनजन्य अपराध, शोषण, यातना एंव दुव्र्यवहारसमेतलाई महिला हिंसाको रूपमा लिन संकिन्छ ।
लिङ्गको आधारमा गरिने शारीरिक, मानसिक, यौनजन्य क्षति, पीडा दिने, धाकधम्की तथा महिलालाई स्वतन्त्रताको उपयोग गर्नवाट वञ्चित गरिने कार्य समेतलाई महिला हिंसा भित्र राखिएको अधिवक्ता दीपककुमार बुढाथोकी बताउँछन् ।
कुनै व्यक्तिगत वा समूहगत लाभ प्राप्त गर्ने निहीत उद्देश्यले भय, त्रास, डरको वातावरण सृजना गरी आफ्नो उदेश्य पूरा गर्ने काम अपराध हुने उनले जनाए ।
घरेलु हिंसा, घर झगडा, बहुविवाह, चेलिबेटी बेचविखन, श्रमशोषण, यौन शोषण, बोक्सीको आरोप, धार्मिक भेदभाव, असमानता, अत्याचार, अपमान, गालीगलौज, बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, कुटपिट, शोषण दमनजस्ता कसुरजन्य क्रियाकलाप गर्न नहुने बुढाथोकीले बताए ।
प्रतिक्रिया