काठमाडौँ । ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो ।
विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा सन् २०२१ मा सुरुवात गरिएको ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स आफैमा नयाँ किसिमको कार्यक्रम हो ।
यस ग्लोबल प्लेटफर्ममा युनिसेफ खरिद साझेदारको रूपमा रहेको छ, जसले औषधीको खरिद तथा नेपालसम्म ढुवानीको जिम्मेवारी निर्वाह गर्नेछ । नेपालमा औपचारिक यो पहल रूपमा सुरु गर्न २०८० चैत्र १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
‘नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र श्रोत अभावका कारण तीमध्ये करिब एक तिहाइले मात्र उपचार प्राप्त गर्छन् । नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । यो दर उच्च आय भएका देशहरूको तुलनामा निकै कम हो । जहाँ यो दर ८० प्रतिशत भन्दा बढी छ । बाँच्ने सम्भावना दर कम हुनुको प्रमुख कारणहरू मध्ये क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीको अभाव पनि एक हो ।
नेपाल ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिनको यस नयाँ कार्यक्रममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र हो।
बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सको लक्ष्य रहेको जनाएको छ ।
यसको लक्ष्य सन् २०३० सम्म क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर कम्तीमा ६० प्रतिशत पु¥याउनु हो । यी औषधीहरू स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत चार अस्पतालहरू’कान्ति बाल अस्पताल काठमाडौँ, पाटन अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, तथा बी पी कोइराला क्यान्सर अस्पताल, चितवन’मा वितरण गरिनेछ ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त भएका औषधिहरूले बालबालिकाहरूको उपचारमा धेरै ठुलो सहयोग पुग्ने बताए ।
उनले क्यान्सर निर्मूल गर्ने सम्बन्धमा एचपिभि भ्याक्सिन उपलब्ध गराएर अभियान नै सञ्चालन गरिसकेकोले ९० प्रतिशत भन्दा बढी १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाले त्यो भ्याक्सिन प्राप्त गरेको बताए ।
प्रतिक्रिया