सुन्दरहरैंचा : सुन्दरहरैंचा–१० मोरङका ५२ वर्षीय गोबिन्द पोखरेल हाल जीवन-मरणको संघर्षमा छन्। काठमाडौंमा सामान्य ज्याला–मजदुरी गर्दै परिवार पाल्दै आएका पोखरेल असोज २३ गते रूखबाट लडेर गम्भीर रूपमा घाइते भएपछि काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत छन्।
घाइते पोखरेल लामो समयदेखि आइसीयुमा राखेर उपचार गरिएको छ। हाल उनलाई एचडियुमा सारिएको भए पनि अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्। पहिलो चरणको शल्यक्रिया सम्पन्न भए पनि दोस्रो चरणको शल्यक्रिया आर्थिक अभावका कारण रोकिएको छ।
उनकी श्रीमती भगवती पोखरेलका अनुसार श्रीमानको कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेको छ। “दैनिक ज्याला मजदुरीमै जीवन गुजारा गर्दै आएका थियौं। पाँच लाखभन्दा बढी खर्च भइसकेको छ, अब अर्को शल्यक्रियाका लागि तीन लाख रुपैयाँ तत्कालै जुटाउनुपर्ने अवस्था छ,” उनले भनिन्।
परिवारका मुख्य आर्जन स्रोत नै बिरामी परेपछि भगवती पोखरेल देश–विदेशमा रहेका सहयोगी मनहरूलाई “जीवनदानका लागि सहयोग गरिदिनुहोस् ।”
गोबिन्दको उपचारमा सहयोग गर्न इच्छुकले भगवती पोखरेलको नाममा नबिल बैंकमा रहेको खाता नम्बर 0910017502933 वा सोही खातासँग सम्बन्धित क्युआर कोडमार्फत सहयोग गर्न सक्नेछन्। थप जानकारीका लागि उहाँको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया