काठमाडौं । अमेरिकाबाट निष्कासनमा परेका १९ जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन्। ओम्नी एयरलायन्सको चार्टर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस (इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट) प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान प्रक्रिया पूरा भएपछि नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट तयार गरी उनीहरूलाई नेपाल पठाइएको हो।
निष्कासनमा परेकामध्ये १७ जना पुरुष र दुई जना महिला रहेका छन्। स्रोतका अनुसार उनीहरू विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका हुन्। निष्कासनमा परेका महिलामध्ये एक विक र अर्को सिंह थरका रहेका छन्।
अमेरिकी अध्यागमन निकायले यसअघि ३७ जना नेपालीलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको थियो। पहिलो चरणमा १९ जना काठमाडौं ल्याइएका हुन् भने बाँकी १८ जनालाई पनि क्रमशः स्वदेश फर्काइने तयारी भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया