विराटनगरमा खाल्डोभित्र चाँदनीको शव फेला प्रकरण : प्रेम सम्बन्धका कारण हत्या

बुधबार, १४ फागुन २०८१
विराटनगर : विराटनगरमा खाल्डोभित्र शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्याको मुख्य कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो । चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको यकिन भएको छ । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर मारेपछि राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार खाडोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव १८ गते उत्खनन गरिएको हो । शवलाई कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अघि बढायो । जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीका हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको अनुसन्धानबाट पत्ता लागेको बताए । उनका अनुसार आमा र मामाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता गरिएको छ । चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी)५४ वर्षीया बतासी मण्डल, माइजू जानकी, र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव घटनाका मतियार हुन् । प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लाग्यो । हत्यामा प्रत्यक्ष आमा र मामा संलग्न रहेको पराजुली बताउँछन् । अरूले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको उनको भनाइ छ । ‘कसुर अनुसारको मुद्दा दर्ता गरिएको छ,’ उनी भन्छन्, ‘पोस्टमार्टम रिपोर्ट’बाट पनि घाँटीमा दबाब परेर मृत्यु भएको पत्ता लाग्यो ।’ अभियुक्तको बयान अदालतले बिहीबारबाट लिन सुरू गर्नेछ । बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ । बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतले दिने छ । कसुर ठहर भएमा मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ । चाँदनीको हत्या मामाघरकै एउटा कोठभित्र भएको प्रहरीले पत्ता लागेको प्रहरीले जनाएको छ । शव व्यवस्थापन गरेपछि त्यो कोठालाई खाली छाडिएको प्रहरीको भनाइ छ । प्रहरी अनुसन्धानबाट भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेरका भारतीय बालकसँग प्रेम सम्बन्ध थियो । केही समयअघि भागेर बिहेसमेत गरेका थिए । छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए । विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए । आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन् । छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको पत्ता लागेको जिल्ला न्यायाधिवक्ता पराजुलीले बताए । प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको उनको भनाइ छ । उनका मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरूकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुलेको छ । ‘छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो । सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन् । मावलीबाटसमेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ । त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो,’ पराजुलीले भने । अनसन्धानबाट हत्यामा चाँदनीका बाबु लालमनकोसमेत सहमति देखिन्छ । उनले ससुरालीमा छाडेकी पत्नी घर पुगिन् । तर, छोरी फर्किनन् । चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा केही दिनअघि खनिएको ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो । सुरूमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए । प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदै प्रहरीले खोजतलास गर्दा शव भेटियो । प्रहरीका अनुसार लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार