जनकपुरधाम : धनुषामा एक सातादेखि बेपत्ता भएकी भनिएकी एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा भेटिएको हो।
स्थानीयले अञ्जली अचानक हराएको र उनका श्रीमान् बेपत्ता रहेको सूचना दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
अनुसन्धानका क्रममा शनिबार दिउँसो करिब १ बजे पूजाकोठाभित्रै गाडिएको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार अञ्जलीका श्रीमान् हरिराम यादव फरार रहेकाले हत्या उनैले गरेको हुन सक्ने अनुमान गरिएको छ। साथै, उनीहरूकै १० महिनाकी छोरीको अवस्थाबारे पनि कुनै जानकारी छैन।
स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो। त्यसको भोलिपल्ट रामहरिले श्रीमती हराएको भन्दै छरछिमेकमा हल्ला गरेका थिए। मंगलबारदेखि उनी स्वयं पनि बेपत्ता भए।
घरका सबै सदस्य एकाएक गायब भएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हाल शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ। प्रहरीले फरार श्रीमानको खोजी गरिरहेको जनाएको छ।
प्रतिक्रिया