विराटनगर । मोरङको उर्लाबारीमा रहेको एउटा ज्वेलर्स (सुनचाँदी पसल) फुटाएर चोरी भएको छ । अज्ञात समूहले ज्वेलर्स फोडेर ठूलो परिमाणमा चाँदीका गरगहना चोरी गरेको छ ।
करिब २ तोलाको तिलहरीबाहेक सुनका अरु गहना भने पसलमै छाडिएको छ । ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
यो चोरीलाई अनुसन्धान अधिकारीले अनौठो घटना मानेका छन् । ‘ज्वेलर्स फोडेर चोरी गरिएको छ । चाँदीका सबै गहना लगेको पाइयो । तर, सुनका गहनाहरु पसलमै छाडिएको छ । यो एकदमै अनौठो खालको चोरी भयो,’ डीएसपी जोशीले भने ।
उनका अनुसार उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उक्त ज्वेलर्समा आइतबार राति चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा सोमबार बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो ।
पसलको गाह्रो फुटाएर चोरी गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार ज्वेलर्स सञ्चालकले २५ किलो चाँदीका गरगहना, २ तोलाको सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको जानकारी गराएका छन् ।
तर, पसलमा रहेको अरु सुन भने चोरी नभएको प्रहरीले जनाएको छ । ‘ठूलो परिमाणमा चाँदीका गहना र करिब २ तोला सुनको तिलहरीसहित केही नगद लगेको पाइयो । तर, पसलमा भएको अरु सुन जस्ताको तस्तै छाडिएको रहेछ,’ डीएसपी जोशीले भने ।
प्रहरीका अनुसार चोरीमा संलग्नले पसलभित्र रहेको सीसी क्यामेराको ‘ब्याकअप स्टोरेज’ नै लिएर गएको पाइयो । डीएसपी जोशीले चोरीमा संलग्नको पहिचान हुन बाँकी रहेको र खोजीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको बताए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।
उर्लाबारीमा पछिल्लो समय चोरीका घटना बढेका छन् । गत माघ २१ गते बिहानका राति मोबाइल पसलमा चोरी भएको थियो । त्यसयता सानातिना चोरी भइरहेका छन् । उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ ।
मोबाइल पसल नै रिचोरीको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । प्रहरीले खोजी गरिरहेको छ । मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका आधारमा चोरीमा संलग्नको पहिचान भइसके पनि भारत भागेका कारण पक्राउ गर्न सकिएको छैन ।
प्रतिक्रिया