विराटनगर : विराटनगरमा १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले ६ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेशलगत्तै अभियुक्तहरूलाई आइतबार जिल्ला कारागार मोरङ चलान गरिएको छ ।
तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको जानकारी बुढाथोकीले दिए । चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।
उनको हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको प्रहरीले जनाएको छ । आमा-बाबुससहित हत्यामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादवको मिलेमतो रहेको अनुसन्धानबाट यकिन भयो ।
प्रहरीले अनुसन्धान सकेर मिलिस (अनुसन्धान प्रतिवेदन) बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै ६ जना अभियुक्तविरूद्ध जिल्ला अदालत मोरङमा गत मंगलबार ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो ।
अदालतमा बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएर अभियुक्तलाई थुनामा पठाउने आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए ।
उनका अनुसार प्रतिवादीमध्ये आमा र मामाविरूद्ध कर्तव्य ज्यान तथा अरू चार जनालाई मतियार बनाएर मुद्दा दर्ता भएको छ । कसुर ठहर भयो भने मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।
विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर माघ ११ गते दिउँसो हत्या गरेपछि मामाघर नजिकै खाल्डो खनेर राति शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
खाल्डोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव प्रहरीले माघ १८ गते उत्खनन गरी कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर कानुनी कारबाहीको प्रक्रिया बढाएको थियो । प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यको सहमतिमा भएको पत्ता लाग्यो ।
आमा र मामाले घाँटी थिचेर उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको पाइयो उनको भनाइ छ । चिमरियाका अनुसार ‘पोस्टमार्टम रिपोर्ट’मा पनि घाँटीमा दबाब परेर मृत्यु भएको उल्लेख छ ।
चाँदनीको हत्या मामाघरकै एउटा कोठभित्र भएको उनले बताए । भरतको छपरा जिल्ला घर भएकी चाँदनी करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्धमा थिइन् । केही समयअघि भागेर बिहे गरेका उनीहरूलाई छुटाएर बाबुआमाले पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आएका थिए । विराटनगर आएकै भोलिपल्ट बुबा लालमन भारतस्थित घर फर्किए ।
आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन् । छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको एसपी चिमरियाले बताए ।
उनका अनुसार मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरूकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुल्यो । छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो । सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन् ।
‘मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो ।’
मामाघर आएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा चल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले मामाघरदेखि एक सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो ।
सुरुमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए ।
प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताएका थिए । कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अगाडि बढाउँदै प्रहरीले खोजतलास गर्दा शव भेटिएको थियो ।
यसपछि प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गर्दा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
प्रतिक्रिया