इटहरी : सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुरको बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।
खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।
बस्तीमा बाघ पसेपछि सो क्षेत्रमा झण्डै १२ घण्टा तनावग्रस्त बन्यो । बाघको आक्रमणमा परी केही व्यक्तिहरू घाइते भएपछि र पुनः आक्रमण गर्ने शंकाले उक्त क्षेत्र तनावग्रस्त बनेको थियो ।
तर, कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले बस्तीमा पसेको बाघलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिएको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।
दिनभर भीडका कारण बाघलाई नियन्त्रणमा लिन तनाव भएपछि साँझको समयमा मात्रै नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार डार्ट प्रयोग गरेर बेहोस बनाइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिने व्यवस्था मिलाइएको छ ।
बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो । दिनभर बाघ गोठमै पसेपछि घटनास्थलबाट सुरक्षाकर्मी र स्थानीयबासीले होहल्ला गरेपछि स्थानीय भरत विष्टको घरभित्रै बाघ पसेको थियो ।
घरभित्रै बाघ पसेपछि स्थानीयले भने थुनेका थिए । त्यसपछि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको प्राविधिक टोलीसहित सुरक्षाकर्मीले डार्ट प्रयोग गरेर बाघ नियन्त्रणमा लिन सफल भएको हो ।
‘दिनभर अत्यधिक भीडका कारण डार्ट हानेर नियन्त्रणमा लिनसमेत समस्या भयो,’ गौतमले भने, ‘भीडमा काम गर्ने अवस्था भएन। तर, साँझमा भने डार्ट प्रयोग गरी बाघलाई नियन्त्रणमा लिइएको छ ।’
उक्त बाघ अन्दाजी आठ वर्षजतिको रहेको गौतमको भनाइ छ । सोमबार बिहान उक्त बाघले आक्रमणको प्रयास गर्दा तीनजना घाइते भएका छन् ।
आक्रमणमा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाईँ घाइते भएका हुन् ।
प्रतिक्रिया