विराटनगर ः मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् । मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो ।
घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।
डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए। सोमबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
अजयको घरमा उनकी श्रीमती तथा ४ र २ वर्षका दुई छोरा छन् भने जुबामुनीका डेढ वर्षका छोरा रहेको जानकारी दिइएको छ। प्रहरीले दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुनसक्ने आँकलन गरेको छ।
‘घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूले आपसी समझदारीमा आत्महत्या गरेको देखिन्छ। तथापि, विस्तृत अनुसन्धानपछि मात्र यकिन निष्कर्ष निकाल्न सकिन्छ,’ डीएसपी दाहालले बताए।
हाल शव पोस्टमार्टमका लागि पठाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया