विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधनको चाबी खोसेका छन् । खोला ठेक्का नलागेको विषयमा चलेको विवाद उत्कर्षमा पुग्दैगर्दा उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्दै आएको सवारीको चाबी खोसेका हुन् ।
गाउँपालिका अध्यक्ष माझीले उनले आफूले पनि गाडी नचढ्ने बताएका छन् । गाउँ कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालत पुगेपछि अध्यक्ष माझीले सवारीसाधनको चाबी खोसेका हुन् । गत माघ ३० गते बसेको कार्यपालिका बैठकमार्फत लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालो सूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गाउँपालिकाले गरेको थियो ।
कार्यपालिका सदस्यलाई बैठकको सूचना नै नदिइकन अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । कार्यपालिका बैठकको सूचना ३ दिनअगाडि नै सदस्यलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।
उच्च अदालतले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि खोला ठेक्का लगाउने प्रक्रिया रोकिएको छ । पालिकाको आन्तरिक आम्दानीको स्रोत बन्द भएका कारण जनप्रतिनिधिको सवारी फिर्ता गरेको अध्यक्ष माझीले बताए ।
ग्रामथानको कार्यपालिका बैठक मंगलबार पनि बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये २ प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष चौधरीले बताइन् । उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले सहयोगी खटाएर सवारीको चाबी खोसेका हुन् ।
ग्रामथानमा गत मंसिर १६ गतेको उपनिर्वाचन भएको थियो । माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी भएका थिए ।
प्रतिक्रिया