विराटनगर : पसल नै रित्याएर १ महिनाअघि मोरङको उर्लाबारीबाट चोरी गरिएकामध्ये केही मोबाइल भारतमा भेटिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त टोलीले भारतका विभिन्न स्थानमा फेला परेको जानकारी दिए ।
उनका अनुसार विभिन्न कम्पनीका २० वटा मोबाइल फेला पारिएको हो ।पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएका थिए ।
प्रहरीका अनुसार चोरीमा भारतीय नागरिक संलग्न रहेको पाइएको छ । चोरी गरिएका मोबाइल भारतमा पुर्याइएको र चोरीमा संलग्न भारततिर भागेको प्रहरीको भनाइ छ ।
उर्लाबारीबाट चोरी भएका मोबाइलको खोजी गर्ने क्रममा नवलपरासीबाट चोरी भएका ११ र दमकबाट चोरी भएको एउटा मोबाइलसमेत फेला पारिएको एसएसपी दाहालले बताए ।
उर्लाबारी–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्ल्ड नामक पसलबाट गत माघ २१ गते बिहानका राति ३ करोड रुपैयाँभन्दा बढीको मोबाइल चोरी भएको थियो ।
मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । खोजी जारी राखिएको प्रहरीले जनाएको छ । पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ ।
भारतीय प्रहरीसँग समन्वय गरेर २० वटा मोबाइल फेला पारिए पनि अरू मोबाइल नभेटिएको प्रहरीको भनाइ छ । बाँकी मोबाइल खोजी जारी राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया