आइटी क्षेत्र रोजेका महिला भन्छन् : ‘आइटीबाटै लाखौँ कमाउन सकिन्छ’

शनिबार, २४ फागुन २०८१
काठमाडौं । नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरू अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी विषय छात्राहरूको रोजाइमा पनि पर्न थालेको छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठुलो डीयरवक (डीडब्लु) आइटी फेयर २०२५ मा भेला भएका युवतीहरूले आइटी क्षेत्रमा भविष्य राम्रो रहेको सुनाए । सिएसआइटीकी विद्यार्थी सदिक्षा घिमिरे आइटी पढिसकेपछि विश्वका जुनसुकै कुनामा गएर पनि काम गर्ने मौका पाइने भएकाले आफूले यही विषय रोजेको बताइन् । ‘म सानैदेखि कम्प्युटरमा खेल्न रुचाउँथे । बिस्तारै यही क्षेत्रमा अभ्यस्त हुँदै गएँ । अहिले बुझ्दै जाँदा आफ्नो स्किल भयो भने यही क्षेत्रमार्फत नेपालभित्रै बसेर महिनाको लाखौँ कमाउन सकिने रहेछ भन्ने लागिरहेको छ । वास्तवमा टेक्नोलोजीमा धेरै काम गर्ने अवसर मिल्ने रहेछ,’ उनले भनिन् । सिएसआइटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आइटीमा अगाडि बढिरहेको भन्दै आफूले आइटी विषय रोजेको बताइन । ‘मैँले सुरुमा ग्राफिक्स डिजाइनमा ध्यान दिन्थेँ । धेरै साथीहरूले नर्सिङ पढ्न रुचाउँथे तर मैले आइटी नै रोजेँ । अहिले सबै क्षेत्रमा महिलाको सहभागिता बढेको छ । महिलाहरू आइटी सेक्टरमा पनि धेरै नै एक्टिभ हुनुहुन्छ । एआईदेखि सबै टुल्सहरु आइटी क्षेत्रकै प्रयोग भइरहेको छ । त्यसैले आइटी क्षेत्रमा साँच्चै सिरियस भएर काम गर्ने हो भने महिनामा लाखौँ रुपैयाँ स्वदेशमै बसेर पनि कमाउन सकिन्छ जस्तो लाग्छ,’ उनले भनिन् । सिफलमा रहेको डीयरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्र्याजुएट रोजगारीका लागि आइटी पहिलो प्राथमिकता राख्ने गरेको सुनाउँछिन् । हुन त आइटी क्षेत्रमा महिला र पुरुष भन्ने हुँदैन तर महिलाहरूको आकर्षण आइटीतिर बढ्दै गएको उनले बताइन् । ‘आइटी क्षेत्रमा महिलाहरू र पुरुष भन्ने हुँदैन । जसले पनि यो पढ्न सक्छ । इच्छा चाहिँ हुनुप¥यो । तर पहिले देखि नै पुरुषहरूले बढी आइटी अर्थात् इन्जिनियरिङ सेक्टर रोज्ने गरेको पाइन्छ । महिलाहरू पढ्नै सक्दैन भन्ने भाष्य थियो । तर यो अहिले आएर परिवर्तन हुँदै छ । महिलाहरू पनि जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्छन् । आइटी कम्पनीहरूले पनि महिला कर्मचारीहरूलाई बढाउनका लागि धेरै कार्यक्रमहरू गरिरहनुभएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार