दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री

आइतबार, २५ फागुन २०८१
काठमाडौं । महिलालाई दार्जिलिङ घुम्न लैजाने बहानामा भारतको महाराष्ट्रमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका-६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्। मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौं तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई फागुन २१ गते मनमैजुबाट र सोमबहादुरलाई फागुन २३ गते तारकेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाउँ ठेचोबाट ती दुई महिलालाई दार्जिलिङ घुमाउने भन्दै लगेको खुलासा गरे। उनीहरूले महिलालाई ललितपुरबाट कोटेश्वर, त्यसपछि झापा काँकडभिट्टा हुँदै दार्जिलिङ पुर्‍याएका थिए। त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियामा पुर्‍याएर कोठीमा बेचिएको अनुसन्धानबाट खुलेको छ। महिलाहरूलाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो। उनीहरूलाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो। नेपाल फर्किएपछि पीडित महिलाहरूले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा उनीहरूको नाममा नक्कली नागरिकता बनाई काँकडभिट्टा पुर्‍याइएको र भारत प्रवेशका लागि सोही नक्कली परिचयपत्र प्रयोग गरिएको पाइएको छ। पक्राउ परेका मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जेल परेका थिए। जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय तोकेको भए पनि उच्च अदालतले सजाय घटाएर पाँच वर्ष कायम गरेपछि उनी जेलमुक्त भएका थिए। तर, छुटेपछि पुनः मानव बेचबिखनमा संलग्न भएको खुलेको छ। ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलाहरूलाई उद्धार गरेको हो। उनीहरू भारतीय प्रहरीले उपलब्ध गराएको बस टिकटमार्फत सुगौलीसम्म आइपुगेका थिए र त्यसपछि नेपाल प्रवेश गरेका थिए। हाल पक्राउ परेका दुबै जनालाई अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ। ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भइसकेका छन्, जसमा २० महिला र ६३ पुरुष पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार