विराटनगरको बाल सुधारगृहमा अशान्ति मच्चाउने १४ जनालाई बाँके लगियो

आइतबार, २५ फागुन २०८१
विराटनगर : विराटनगरको बाल सुधारगृहमा रहेका १४ जनालाई आइतबार बाँके लगिएको छ । विवाद र झगडा गरेर अशान्ति मच्चाउनेहरूलाई स्थानान्तरण गरेर बाँके लगिएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए । गत शुक्रबार साँझ झडप हुँदा सुधारगृह अशान्त भएको थियो । ३ जना घाइते भएका थिए । चौहानका अनुसार स्थानान्तरण गरेर १४ जनालाई आइतबार बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा पठाइएको हो । विराटनगरबाट पठाइएका सबै १८ वर्षमाथिका हुन् । स्थानान्तरण गरिएकाहरू कर्तव्य ज्यान, जबरजस्ती करणी र लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएकाहरू रहेको चौहानले बताए । ‘सुधारगृहभित्र विवाद, झगडा र झडपमा संलग्न भएकाहरुलाई स्थानान्तरण गरिएको हो । कतिपयलाई सुरक्षाका दृष्टिकोणले पनि पठाइयो,’ उनले भने । विराटनगर महानगरपालिका–३ स्थित सुधारगृहभित्र गत शुक्रबार साँझ दोहोरो झडप हुँदा तीन जना घाइते भएका थिए । घाइते सबै २२ वर्षका थिए । दुई जना पाँचथर र एक जना सुनसरीका हुन् । उपचारपछि डिस्चार्ज भइसकेका घाइतेहरूलाई पनि स्थानान्तरण गरिएको चौहानले बताए । उनका अनुसार सुधारगृहभित्र ठूलाले सानालाई हेप्ने, बारम्बार विवाद र झगडा गर्ने समस्या थियो । स्थानान्तरणका लागि बाल सुधारगृहले जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफारिस गरेको थियो । सिफारिसका आधारमा कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर स्थानान्तरणको प्रक्रिया पूरा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रजिअ यादवले झडपका कारण अशान्त भएको सुधारगृहको अवस्था सामान्य भइसकेको जानकारी दिए । कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन् । युवा भइसकेकाहरुबीच झडप भएको हो । सुधारगृहमा भएको झडपको प्रहरीले अनुसन्धान गरिरहेको छ । सुधारगृहको क्षमता ५० जनाको हो । तर, दुई सय ४८ जनालाई राखिएको थियो । १४ जनाको स्थानान्तरण भएपछि आइतबार दुई सय ३४ जना छन् । तीमध्ये १८ वर्षमाथिका एक सय आठ जना रहेको छन् । चौहानका अनुसार सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरूको संख्या धेरै छ । उनीहरू बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । ‘आवश्यक कानुनको अभावले बालिग भइसके पनि अरु बालकसँगै सुधारगृहमा राख्नुपर्ने बाध्यता छ,’ चौहानले भने, ‘बालिग भइसकेकालाई राख्दा अनेक समस्या निम्तिने गरेको छ ।’ सुधारगृहको सुरक्षामा नेपाल प्रहरीका सहायक निरीक्षक (असइ)को नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार