वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा सुरु

सोमबार, २६ फागुन २०८१
काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा.समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताए । यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सङ्घीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्य योजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपिडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल सुरु गरेको हो । ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्,’ उनले भने, ‘बिस्तारै बाँकी अरू सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’ आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए । दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा.गौतमले निमित्त निर्देशक भए लगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार