मोरङ : प्रधानमन्त्री केपी शर्मा ओली कोशी प्रदेश सभालाई सम्बोधनका लागि मंगलबार विराटनगर आउँदैछन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्न र प्रदेशसभामा सम्बोधन गर्न उनी मंगलबार विराटनगर आउने भएका हुन् ।
मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहलाई बिहान ११ बजे सम्बोधन गर्ने र दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दीक्षान्त समारोहका साथ प्रधानमन्त्रीले पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नेछन् ।
यसैबीच प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सबै सांसदहरूलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ ।
सोमबार बसेको एमाले संसदीय दलको कार्यालय बैठकले मंगलबारको प्रदेशसभा बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
नेपाली काँग्रेसले पनि सबैलाई बैठकमा सहभागी हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया