विराट गोल्डकपको फाइलनमा चर्च ब्वाइज र थ्री स्टार भिँड्दै

सोमबार, २६ फागुन २०८१
विराटनगर : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । विदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो । पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । ३० माघमा पोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा म्यान अफ दि म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार