विराट गोल्डकपको उपाधि थ्री स्टारलाई

बुधबार, २८ फागुन २०८१
विराटनगर : लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाइ पराजीत गर्दै थ्री स्टार क्लबले ९ औँ संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधवार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टार च्याम्पियन बनेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौँ मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढङ्गले पोस्टको दिशा दिएका थिए । थ्री स्टारले दोस्रो गोल ६३ औ मिनेटमा ग¥यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए । उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ । थ्री स्टारले यसअघि पाँचौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यस बेला आर्मीलाई ३–० गोलले फाइनलमा हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो । चर्च ब्वाइज भने पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । थ्री स्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो । यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाईजले क्वाटर फाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो । फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो । विजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराट गोल्डकपको संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार