ईटहरी । समयमा बैँकको किस्ता नबुझाएको भन्दै एनआइसी एसिया बैंकले झापा र मोरङमा आफ्ना ऋणीहरूको घरमा गार्ड नै राख्न थालेको छ ।
पछिल्लो समय इटहरीका चर्चित कलाकार विक्रमश्रीको घरमा एनआइसी एसिया बैँकले गार्ड नै राखेर टर्चर दिएको छ । कलाकार बिक्रमश्रीले नै यस विषयमा सामाजिक सञ्जालमा तस्बिर र स्टाटस लेखेका छन्। उनले लेखका छन, ‘मेरो घरअगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआइसी एसिया बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउँदछु,’ उनले भनेका छन्।
उनले आफूलाई घरमै ताला लगाएर नजरबन्द गरी गार्डले ड्युटी गरिरहेको भन्ने भ्रामक खबर बजारमा फैलिएको बताउँदै लेखेका छन्, ‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डको राम्रो हेरदेख गरिदिएका छौं।’
उनले आफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशको आर्थिक मन्दीका कारण नसकेको बताएका छन्।
‘हामीजस्ता स्वावलम्बी सिर्जनशील सर्जकहरूले सजिलो गरी बैंकलाई किस्ता बुझाउन सकिरहेका छैनौं। एकैदिन एकै पटक बैंकले सात दिने, ३५ दिने र घर लिलाम गर्ने, पत्रिकामा छाप्ने तयारीको सूचनाको पत्रसहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन्,’ उनले भने।
धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको समेत उनले बताएका छन्। ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ,’ उनले भनेका छन्।
उनले बैंकलाई आफ्नो स्लोगन ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन्। उनले विषम परिस्थितिमा ब्याज मात्र लिइदिएर सहयोग गर्नसमेत आग्रह गरेका छन्।
यसअघि समयमा किस्ता नतिरेको भन्दै दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलको घरमा बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको थियो । बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो।
दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो। ३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन् । पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले बताइन्।
खाएपछि समयमा तिर्नु पर्दैन भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उनले दुखेसो गरिन्।४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताए ।पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उनले १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए ।
प्रतिक्रिया