झापा : काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिवार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताउनुभयो ।
“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ”, प्रशिक्षक सुब्बाले भन्नुभयो, “उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।” काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघिका खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ गोलले र धरान एफसीलाई सडन डेथमा ५–४ गोलले पराजित गरेको थियो ।
चर्चब्वाइज युनाइटेडलाई यसै वर्ष झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि उचालिसकेको बलियो टोली मानिन्छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुने स्वीकार गरेता पनि आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो ।
“जित्नलाई त जितिहालिन्छ”, उहाँले भन्नुभयो, “घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुन्छ । तर हामी उपाधिका लागि खेल्छौँ ।” उहाँले आफ्ना खेलाडी लगातारको खेलले थाकिरहेको बताउनुभयो ।
चर्च ब्वाइजले यसअघिको खेलमा झापा एफसीलाई सडन डेथमा ५–४ गोलले र मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले हराएको थियो । मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् ।
खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका सचिव राजु कार्कीले बताउनुभयो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया