रत्ना होटलको क्यासिनोमा दुई समूहबिच झगडा, ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिए

सोमबार, ०४ चैत्र २०८१
विराटनगर : विराटनगरको रत्ना होटलको सम्राट् क्यासिनोमा दुई ‘गुण्डा’ समूहबिच कुटाकुट भएको छ । आइतबार राति १२ बजे क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबिच कुटाकुट भएको हो । कँडेलसहितले गिरीलाई गमलाले प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार गिरीको टाउको फुटेको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा दुवै समूह भागिसकेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन् । जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको डिएसपी जोशीले बताए । प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा थिए । राति करिब १२ बजे कँडेल र लामा पनि क्यासिनोमा पुगे । बाउन्सरले उनीहरूलाई प्रवेश गर्नबाट रोके । बारम्बार भित्र छिरेर लफडा गर्ने गरेका कारण रत्नाको क्यासिनोमा उनीहरूलाई प्रवेश निषेध छ । कँडेलले क्यासिनो प्रवेश गरेर पटक–पटक झगडा गरेको विगत छ । कानुनतः क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे । उनी अभिषेकका भतिज हुन् । बाउन्सरले निकेशलाई भित्र जान दिएपछि मदिरा सेवन गरेका कँडेल र लामाले रोक्न खोजे । त्यसपछि ‘हामीलाई छिर्न नदिने’ ? भन्दै निकेशमाथि उनीहरूले हातपात गर्न थाले । निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए । अभिषेक सधंै ५–६ जनाको समूहमा हिँड्छन् । ‘अभिषेक बाहिर आएपछि दुई समूहबिच भनाभन भयो । पछि कुटाकुट हुन थाल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन् । तर, प्रहरी पुग्नुअघि भागे ।’ प्रहरी स्रोतका अनुसार कँडेलले गमलाले गिरीको टाउकोमा प्रहार गरेका थिए । कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरूको घर पुगेको थियो । दुवै पक्ष मिटर ब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो । जग्गाको कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन् । लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन् । उनलाई विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । कँडेल पटक पटक विवादमा आइरहन्छन् । मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली काँग्रेस नेताहरूको संरक्षण छ । गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साल साउन तेस्रो साता पक्राउ परेका थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका हुन् । कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउँछन् । सो क्यासिनोमा गिरी समेतको लगानी रहेको बताइन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार