विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ मा लागु औषध ब्राउन सुगरको कारोबार हुँदै आएको एउटा घरमा प्रहरीले छापा मार्दा काका–भतिजलाई पक्राउ गरेको छ ।
बेलबारी–४ का ४३ वर्षीय पर्शुराम दर्जी र मोरङको रतुवामाई नगरपालिका–८ का ३० वर्षीय सुशील मोतेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्शुराम काका र सुशील भतिज हुन् । सुशीलले काकाकै घरमा बसेर लागु औषधको कारोबार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काकाको घरमा बसेर भतिजले लागु औषधको व्यापार गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले बुधवार दिउँसो करिब ४ बजेतिर इलाका प्रहरी कार्यालय बेलबारी र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले छापा हानेको हो । पर्शुरामको घरमा छापा हानेर प्रहरीले ब्राउन सुगरजस्तो देखिने वस्तु १७ ग्राम ८ सय ८० मिलिग्राम बरामद गरेको छ ।
ब्राउन सुगर बरामद भएसँगै प्रहरीले पर्शुराम र उनका भतिज सुशीललाई समेत पक्राउ गरेको छ । सुशीलले प्रयोग गर्ने को २४ प ९३१५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीका हिरासतमा राखिएको छ । बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ परेकामाथि अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया