चल्दैनन् इटहरी चौकका 'सिसिक्यामेरा’,प्रहरीलाई चुनौती !

सोमबार, ११ चैत्र २०८१
इटहरी  आइतबार बिहान ३ः३५ बजेतिर इटहरी चौकबाट पाँच सय मिटर केही बढी पश्चिम मात्रै कामबाट फर्किँदै गरेका सुरक्षा गार्डको सवारी साधनको ठक्करबाट ज्यान गुम्यो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नै राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट करिब १०० मिटर पश्चिम मात्रै साइकलमा यात्रा गरिरहेका गणेश पुरी सवारी साधनको ठक्करबाट अस्ताएका हुन् । इटहरी २० तरहरामा श्रीमती र २ साना छोरी सहित बसेका ३९ वर्षीय पुरीको परिवारमा यति वेला सन्नाटा छाएको छ भने, सुरक्षाका निकायलाई ठक्कर दिने सवारी साधन खोज्न समस्या परिरहेको छ । इटहरी चौक कै क्षेत्र र त्यसमाथि राजमार्ग मै भएको दुर्घटनामा समेत ठक्कर दिने सवारी पत्ता नलाग्नुमा यहाँ जोडिएका सिसिक्यामेरा काम बिग्रिएको अवस्थामा रहेको पाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारी भन्छन्,‘इटहरी चौकमा रहेका सिसिक्यामेरा चलेको अवस्था छैन ।’ सो घटनाका सन्दर्भमा समेत प्रहरीले खोजीका लागि संयन्त्र परिचालन भएको उनले बताए । यो घटना मात्रै नभएर हरेक अपराधका घटनामा प्रहरीका लागि सिसिटिभी महत्त्वपूर्ण उपकरण हो । तर, लाखौँ खर्चिएर जडान गरिएका यस्ता महत्त्वपूर्ण उपकरण बिग्रिएर सञ्चालन नहुँदा प्रहरीलाई समस्या त भएको छ नै, यसको व्यवस्थापन गर्ने निकायमा समेत प्रश्न चिन्ह खडा भएको छ । इटहरी चौकको सिसिटिभीहरुको निगरानी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय आफैँले गरिरहेको अवस्था रहेको छ । क्यामेराको निगरानी गरिरहेको कार्यालयका एसपी विनोद घिमिरेले हावाहुरीका कारण केही क्यामेराहरूमा समस्या भएको बताए । ‘क्यामेराको सन्दर्भमा सबै नचल्ने भन्ने होइन, अस्तिको हावाहुरीले केहीमा समस्या गरेको हो ।’ उनले प्रदेश खबरसँग भने । मुख्य चौकमै रहेका क्यामेरा कुनै पनि बाहानमा नचल्नु दुखद पक्ष रहेको यहाँका जानकारहरू बताउने गर्दछन् । नागरिक सुरक्षाका लागि भनेर लाखौँ खर्चिएका क्यामेरा कुनै पनि बहानामा नचल्नु आफैँमा दुखद छ । यसको मर्मत सम्भार तुरुन्त गरिनुपर्दछ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार