विराटनगर । झापा, मोरङ र उदयपुरमा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर, गाँजा र प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१ भन्सार चोकमा भारतबाट नेपाल आउँदै गरेका भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई ४ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका-१५ बाट २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका-७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई पक्राउ गरेको छ।
उदयपुरमा पनि प्रहरीले लागुऔषधविरुद्धको कारबाही जारी राख्दै त्रियुगा नगरपालिका-१ खैजनपुरबाट २२ वर्षीय सन्तोष चौधरीलाई ७ एम्पुल प्रतिबन्धित औषधि र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया