पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा पुनः माओवादी प्रभाव बलियो बन्दै गएको दाबी गरेका छन् ।
शनिबार पोखराको रानीपौवामा आयोजित ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गतको जनसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले देशका वृद्ध, युवा, महिला र बालबालिकासम्ममा माओवादीप्रतिको विश्वास पुनः जागेको बताएका हुन् ।
“देश माओवादीमय, स्वतन्त्रमय बन्दै गएको छ,” प्रचण्डले भने, “०६४ सालको जस्तै अवस्था देखिँदैछ। म महसुस गर्दैछु—देशले फेरि ठूलो जिम्मेवारी माओवादी र प्रचण्डको काँधमा दिएको छ।”
उनका अनुसार जनताको भावनाले आफूलाई नयाँ क्रान्तिको नेतृत्व गर्न उत्प्रेरित गरिरहेको छ।
नयाँ अभिभाराको तयारीमा माओवादी केन्द्र दृढ छ
उनले भने।
प्रचण्डले अहिलेको जनजागरण अभियान राष्ट्रिय एकताको अभियानको रूप लिँदै गएको भन्दै अभियानमा पार्टीका सबै शीर्ष नेताहरूको सक्रिय सहभागिता रहेको जानकारी दिए। अभियानका क्रममा विभिन्न स्थानमा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीवी लगायतसँग गरिएको संवादबाट प्राप्त सुझाव पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्ने उनको भनाइ थियो।
पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले माओवादी केन्द्रको राजनीतिक पुनरुत्थानको सन्देश दिइरहेको प्रचण्डको ठम्याइ छ। उनले देश परिवर्तनको नयाँ लहरको संकेत दिँदै अबको यात्रा जनताको अपेक्षाअनुसार हुने विश्वास पनि व्यक्त गरे।
प्रतिक्रिया