काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको दिगो विकासका लागि अपेक्षित सहयोग पु¥याउन सरकार सधैं प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित निफको समापन समारोहमा उनले समाजको दर्पण र आर्थिक सामाजिक समृद्धिको आधारको रूपमा चलचित्र क्षेत्र रहेको भन्दै यसको दिगो विकासका लागि नीतिगत र संरचनात्मक लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैं तयार रहेको बताएका हुन् ।
उनले भने,‘नेपाली चलचित्रलाई विश्व मञ्चमा स्थापित गर्न यस्ता फिल्म महोत्सवहरूको ठुलो भूमिका रहेको हुन्छ । नेपाली चलचित्र उद्योगको ५० वर्षभन्दा लामो इतिहास छ जुन हाम्रो कला संस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनी सकेको छ । समाजको दर्पण र आर्थिक सामाजिक समृद्धिको आधारको रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत र संरचनात्मक लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैं प्रतिबद्ध छ ।’
यस्तै, उनले २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौती अनुसार संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढिरहेको पनि बताए ।
उनले भने,‘२०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढिरहेको छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषयमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’
मन्त्रालयले चलचित्र विकास बोर्ड मार्फत चलचित्र क्षेत्रको विकासका लागि पछिल्लो ६ महिनामा विभिन्न महत्त्वपूर्ण पहलहरू अघि सारेको पनि उनको भनाई छ ।
प्रतिक्रिया